मोरङ जिल्ला पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा अवस्थित श्री पञ्चायत माध्यमिक विद्यालय एक अग्रणी सामुदायिक शैक्षिक संस्था हो । २०३६ सालमा स्थापना भएको यस विद्यालयले स्थापना कालदेखि नै गुणस्तरीय, व्यवहारिक तथा जीवनोपयोगी शिक्षाको प्रवर्द्धन गर्दै आएको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब १ किलोमिटर दक्षिण बुद्धचोकमा अवस्थित विद्यालय भौगोलिक रूपमा सहज पहुँचमा रहेको छ ।
विद्यालयले समयक्रमसँगै आफ्ना शैक्षिक कार्यक्रमहरू विस्तार गर्दै आएको छ । २०४० सालमा प्राथमिक तह, २०४५ सालमा निम्न माध्यमिक तह, २०५२ सालमा माध्यमिक तह तथा २०५४ सालमा तत्कालीन उच्च माध्यमिक तहको अनुमति प्राप्त गरी हाल बालकक्षादेखि कक्षा १२ सम्मका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । हाल विद्यालयमा बालकक्षादेखि कक्षा १२ सम्म गरी ३,१९७ विद्यार्थी अध्ययनरत छन् ।
श्री पञ्चायत माध्यमिक विद्यालयमा साधारण तथा प्राविधिक दुवै धारका शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन् । प्राविधिक धारअन्तर्गत कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ विषयको पठनपाठन हुँदै आएको छ । साथै कक्षा ११ र १२ मा विज्ञान, कानुन, ललितकला, व्यवस्थापन, मानविकी तथा शिक्षा मूल समूहअन्तर्गतका विभिन्न विषयहरू अध्ययन गर्न सकिने व्यवस्था छ ।
विद्यालयले शिक्षण–सिकाइ प्रक्रियामा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै आधुनिक शिक्षण पद्धति अवलम्बन गरिरहेको छ । दक्ष, अनुशासित तथा जिम्मेवार नागरिक उत्पादन गर्ने लक्ष्यका साथ समर्पित शिक्षक–कर्मचारी, गुणस्तरीय शैक्षिक वातावरण र बहुआयामिक अवसरहरू प्रदान गर्दै श्री पञ्चायत माध्यमिक विद्यालय समाज र राष्ट्र निर्माणमा निरन्तर योगदान पुर्याइरहेको छ ।
© 2026 Suchanaa. All Rights Reserved.