Madi Rural Municipality Home / Directory
Madi Rural Municipality
Thumakodanda, Kaski
Government
Office Info
Address Thumakodanda, Kaski

कास्की जिल्लाको उत्तर पूर्वमा अबस्थित मादी गाउँपालिका साविकका नामार्जुङ, पार्चे, सिल्दजुरे, थुमाकोडांडा, भाचोेक, मिजुरेडाँडा, सैमराङ, कालिका ६–९ वडाहरु, माझठाना २ र ३, हंसपुर गाविसका ५ र ८ समेटी १२ वटा वडाहरु कायम हुने गरि नेपाल सरकारले मिति २०७३ फाल्गुण २७ गते नेपाल राजपत्रमा प्रकाशन गरी आधिकारिक रुपमा मादी गाउँपालिका घोषणा गरिएको हो । यो गाउँपालिका उत्तर तर्फको प्रसिद्ध अन्नपूर्ण हिमश्रृंखलाको काखमा अबस्थित छ । अन्नपूर्ण दोस्रो र चौथो हिमालको दक्षिणी ढालबाट उत्पत्ति भएको सप्तगण्डकी नदीको सहायक नदीको रुपमा रहेको मादी नदी यस गाउँपालिकाको समृद्धिको प्रमुख आधार रहेकाले यसै नदीको नामबाट मादी गाउँपालिका नाम रहन गएको हो । वि.सं. २०३२ अगाडि हाल मादी गाउँपालिकाका मादी नदी पूर्वका बरालडांडा गाँउबाहेक सबै भाग लमजुङ जिल्ला अन्तर्गत रहेका थिए ।

 

मादी गाउँपालिका नेपालकै मध्य विन्दु रहेको गाउँपालिका हो । अक्षांश र देशान्तर दुबै रेखाबाट काटिदा कायम भएकोे मध्यबिन्दु यसै गाउँपालिकाको कोरी क्षेत्रमा रहेको छ । त्यस्तै हिमालय श्रृङ्खलाकै सबैभन्दा कम उचाई (२४३५ मी.) मा निर्मित १०.०४ हेक्टर क्षेत्रफल ओगटेको र १८,८६,३०० मीटर क्यूविक पानी भएको क्हफुचे हिमताल (Kahphuche Glacial Lake) प्रकृतिको एउटा आफैमा अनौठो विशेषता बोकेको हिमताल हो (GeoNet & Geog. Dept, 2016) । त्यसैगरी यस गाउँपालिकाको अर्को विशिष्टता क्होलासाेंथर गुरुङहरुले अन्नपूर्णको दक्षिणी भागमा बसोबास शुरु गर्दा पहिला वस्ती बसालेकोे ऐतिहासिक आदिम बस्ती क्षेत्र हो । गुरुङको उल्लेख्य बसोबास रहेको यस गाउँपालिकामा उनीहरुको मौलिक संस्कृति र चालचलनको अनुभव गर्न सकिन्छ । साथै समुन्द्रसतहबाट ५२० मी. देखि ७९३७ मी. सम्मको उचाइमा ३६.५ कि.मी. को हवाई दुरीमा अबस्थित यस गाउँपालिकामा प्रायः सबै प्रकारका धरातलीय स्वरुप, हावापानी र जैविक विविधताहरु रहेका छन् । अन्नपूर्ण हिमश्रृङ्खला पार गरी मनाङ जिल्ला जाने नामुन भञ्याङ (Namun Pass) यसै गाउँपालिकाको उत्तरपूर्वी भागमा पर्दछ ।

 

नेपालको गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित मादी गाउँपालिका प्रदेश राजधानी पोखरादेखि करिब १४ कि.मी. उत्तर पूर्वमा अबस्थित छ । समुद्र सतहदेखि करिव ५२० मी.(तल्लो बेंसी) देखि ७९३७ मी. (अन्नपूर्ण दोस्रो हिमाल) सम्मको उचाइको भू–भागमा अवस्थित यस गाउँपालिकाको उत्तर दक्षिण अधिकतम लम्वाई ३६.५ कि.मी. र अधिकतम पूर्व–पश्चिम चौडाई १७.५ कि.मी. रहेको छ । यसको निरपेक्ष अवस्थिति २८° ११' २५" उत्तरी अक्षांश देखि २८° ३२' ३०" उत्तरसम्म र ८४° ०१' ३४" पूर्वी देशान्तर देखि ८४° १७' १५" पूर्वसम्म छ । मादी गाउँपालिकाले ५६३ वर्ग कि.मि. क्षेत्रफल ओगटेकोे छ, जुन जिल्लाको झण्डै २७ प्रतिशत भू–भाग हुन आउँछ ।


यस गाउँपालिकाको पूर्वमा लमजुङ जिल्लाको क्होलासोंथर र मस्र्याङदी गाउँपालिका, पश्चिममा पोखरा महानगरपालिका र माछापुच्छ«े गाउँपालिका, उत्तरमा मनाङ जिल्लाको चामे र नेस्याङ गाउँपालिका र दक्षिणमा पोखरा महानगरपालिका र रुपा गाउँपालिका रहेका छन् । पूर्व तर्फ रुदी खोला साथै लमजुङ र कास्की जिल्लाको सीमानाको पानी ढलो, पश्चिममा बिजयपुर खोला र पानी ढलो, उत्तरमा अन्नपूर्ण हिमश्रृंखला र दक्षिणमा खोलाखोल्सी र पानी ढलोले सीमानाको काम गरेका छन् ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.