Chame Rural Municipality Home / Directory
Chame Rural Municipality
Chame, Manang
Government
Office Info

नेपालको गण्डकी प्रदेश अन्तर्गत हिमाल पारिको जिल्ला मनाङको मध्य भागमा अवस्थित चामे गाँउपालिका समुन्द्रि  सतहवाट २६५० मी. देखि ६७८० मि. उचाइ सम्म रहेको छ । भौगोलिक हिसाबले ‘चामे’ उत्तरी नेपाल गण्डकी प्रदेशको २८० ३३′ ७″उ, ८४० १४′ २७″पू सापेक्ष स्थानमा अवस्थित छ ।करिब  १००६.७४ हेक्टर वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस पालिकाको कुल क्षेत्रफलमध्ये ३२.०४ हेक्टर खेतीयोग्य जमिन, १००.८८ हेक्टर पाचौँ तह जमिन, ५०७.५९ हेक्टर जंगल, ३४६.८५ हेक्टर चरण क्षेत्र र १९.३७ हेक्टर सरकारी जग्गाको रुपमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा नासों गाउँपालिका,पश्चिममा मनाङ निस्याङ गाउँपालिका, उत्तरमा नार्फु गाउँपालिका तथा दक्षिणमा कास्की जिल्लाको मादी गाउँपालिका सँग सिमना जोडिएको छ । यस चामे गाउँपालिकामा तिमाङ‚ थानचोक, कोतो, चामे नयाँ बजार र पारि चामे गरि ५ वटा बस्तिमा पाँच वटा वडा कार्यालयहरु रहेका छन् । चामे गाउँ कार्यपालिकाको कार्यालय वडा नं. ४ नँया वजार स्थित वहुउदेश्यीय भवनमा संचालनमा रहेको छ ।

 

भौगोलिक हिसाबले नेपालको उत्तरी हिमाली भागमा रहेको चामे गाउँ पालिका तिब्बतसंगको सिमाना नजिक पर्ने भएकोले पनि यहाँको सांस्कृतिक पक्षमा तिब्बतीय प्रभाव पाउन सकिन्छ । गुरुङ्ग, लामा, तामाङ, मगर, शेर्पा, थकाली, ब्राहमण, क्षेत्री, लगायतका जातिय समुहहरु यस पालिकाको मुख्य बासिन्दाहरु मध्य हुन । यस पालिकामा हिन्दु, तिब्बती बौद्ध धर्ममा आधारीत संस्कार र रिती–रिवाज प्राचिन काल देखि चलिआएको पाईन्छ । चामे गा.पा. प्राकृतिक सुन्दरताको दृष्टिले त्यतिनै धनी छ । विविध सांस्कृतिक तथा प्राकृतिक सम्पादनका कारण हुनाले चामे गा.पा. पर्यटनको दृष्टिकोणले पनि एक महत्वपूर्ण पर्यटन गन्तव्य स्थानको रुपमा रहेको छ ।

 

यस गाउँपालिकाको कूल जनसंख्या ९१८ (२०७४ र ७५को तथ्याङ्क) रहेको छ, जस मध्ये पुरुष ४५८ र महिला ४६० जना रहेको मध्ये ४०७ (४५.३२%) आर्थिक रुपले सक्रिय देखिन्छ ।चामे गाँउपालिकाको कुल जनसंख्याको ठूलो हिस्सा (४०.२१%) कृषि तथा पशुपालनमा संलग्न भएको देखिन्छ । अधिकांश जनसंख्या कृषि तथा पशुपालनमा संलग्न भएपनि कृषि भूमि ज्यादै सीमित भएबाट आर्थिक उपार्जन भने न्यून रहेको छ । कृषि तथा पशुपालन पछि  रोजगारीको दास्रो व्यापार (होटल तथा रेष्टुरेण्ट, पसल आदि) देखिन्छ जसमा केबल २२.१०% मात्रै संलग्न देखिन्छ । व्यापार पछि बैदेशिक रोजगार ११.९८%, जागिर ८.४५%, ज्याला मजदुर ३.८३%, सरकारी नोकरी ३.७१% र अन्य पेशामा ९.७२% संलग्न रहेको छ ।

 

 यस गाउँपालिकाको अर्थतन्त्रको प्रमुख पाटोको रुपमा कृषि, पर्यटन साथै हाइड्रो को प्रचुर सम्भावना रहेको छ । त्यसमध्ये पनि पर्यटनसँग सम्वन्धित विभिन्न संभावनाहरु यस गाँउपालिकामा रहेको छ । कृषि उत्पादन मूलतः निर्वाहमुखी देखिन्छ । व्यवसायिक रुपमा कृषिको प्रवर्धन गर्नु आवश्यक छ । उच्च भेगमा उत्पादन गरिने आलु, खाप्से, फापर, कोलो, सिस्नो का साथै स्याउ, ओखर आदीको व्यवसायीक रुपमा उत्पादनमा बृद्धि तथा स्थानीय र उन्नत जातका बाख्रा, च्याङ्ग्रा, चौरी/याक पालन एवं अर्थतन्त्रमा उल्लेख्य योगदान दिनसक्ने पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नुपर्दछ ।

 

हिमाल पारी अवस्थित चामे गाउँपालिकाको भौगोलिक रुपमा सहज सडक सुविधा र पुर्वाधारको कमीले यो ठाउँ भौगोलिक दृष्टिकोणले सोचेजति विकसित हुन सकेको छैन । भौगोलिक विकटताका कारण यो ठाउँ आर्थिक तथा सामाजिक विकासको क्षेत्रमा पछि परेको छ । चामे गाउपालिकामा कृषि क्षेत्र र पशुपालन तर्फ पनि व्यवसायिकरण हुन सकेको देखिदैन ।

 

संघिय राजधानी काठमाण्डौं जोड्ने लमजुङको वेशिसहर देखि चामे गाउँपालिका सम्म जोडिएको सडक संजाल ५६ कि.मी दुरी भौगोलिक कठिनाईका कारण यात्रा गर्न झन्डै ६ घण्टाको सवारी यात्रा गर्नुपर्दछ । वर्षातमा हुने पहिरो, वाढिका कारण महिनौ सडक अवरुद्व हुने तथा जिखिम पैदल यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । चामे देखि मनाङ निस्याङ गा.पा. को खाङसार जो विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्ने सडक संजाल जोडिएता पनि भौगोलिक कठिनाईका कारण यातायातको सुविधा नियमित उपलब्ध हुन सकेको छैन ।

 

धार्मिक हिसावमा चामे गाउँपालिकामा हिन्दू धर्मको वाहुल्यता रहेको छ । कूल जनसंख्याको ४९.५५% हिन्दू धर्मावलम्बीहरु छन् भने ४७.५५% बौद्ध छन् । अन्य धर्महरुमा क्रिस्चियन र जैन धर्मावलम्बी न्युन संख्यामा रहेको छन् ।

 

दीर्घकालीन सोचका साथ चामे गाउँपालिकामा संचालन गरिने सबै विकासका प्रयासहरूबाट अन्तिम गन्तव्यका रुपमा सुसँस्कृत र पुर्वाधारसहितको समृद्ध गाउँपालिका बनाउने दीर्घकालीन सोच परिकल्पना गरिएको छ । कृषि र पर्यटनलाई मुख्य जिविकोपार्जन र आर्थिक विकासको स्रोतको रुपमा विकास गर्ने सोच राखिएको छ । यस दीर्घकालीन सोचले गाउँपालिकालाई स्वच्छ, सहज, सफा, पर्यटकिय तथा गरिबीमुक्त र समृद्ध गाउँपालिकाको रुपमा देख्न चाहेको छ । यस दीर्घकालीन सोच हासिल गर्न गाउँपालिकामा कृषि, पर्यटन, सँस्कृति र पुर्वाधारलाई अग्रणी क्षेत्रका रुपमा लिइएको छ ।

 

चामे गाँउपालिकामा पर्यटकिय दृष्टिकोणबाट एउटा महत्वपूर्ण गन्तव्य स्थान रहेको छ ।अन्नपुर्ण पदयात्रा साथै तिलिचो ताल यात्राको मार्गको रुपमा रहेको छ । यस क्षेत्रको मुख्य आकर्षक त्यहाँबाट देखिने हिम श्रृङखलाहरु, ताल एवं सांस्कृतिक स्वरुप र प्राचिन बौद्ध गुम्बाहरु, वनजंगल र जाति, वनस्पतिहरु हुन् । चामेमा अवस्थित पर्यटकिय दृष्टिले महत्वपूर्ण प्राकृतिक सम्पदाहरु लमजुङ हिमाल, कजिन सरा ताल, तातोपानी कुण्ड, पदमार्गहरु, लालिगुँरास बगैंचा रहेका छन ।

 

चामेमा चाडपर्वहरु घोडे  जात्रा  (यारतुङ), ल्होसार, बढे, थेलो, तीर हान्ने (मेथा, धज्याङ ) रहेका छन भने पर्यटकिय दृष्टिले महत्वपूर्ण धार्मिक, ऐतिहासिक सम्पदाहरु साङछिलिङ गुम्बा, क्याङछ्याङ जिङ्जोलिन गुम्बा, तलेखु गुम्बा रहेका छन ।

 

चामे गाउँपालिकाले रोजगारमुखी समावेशी विकास, पिछडिएको जातीय समुदाय तथा भौगोलिक क्षेत्रको विकासलाई नीति तथा कार्यक्रममार्फत् विशेष प्राथमिकता दिँदै आएको छ । महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न तथा असहाय वर्गको हितलाई नीति तथा कार्यक्रमअन्तरगत समावेश गरेको छ । गाउँपालिकाले सुरक्षित मातृत्व, आधारभूत स्वास्थ्य सेवामा पहुँच, पोषणको अवस्थामा सुधार, सफा टोल, गुणस्तरीय आधारभूत शिक्षा तथा स्वास्थ्य सेवा, दण्डरहित शिक्षा, र लक्षित वर्गको हितलाई समृद्ध चामे गाँउपालिकाको आधारका रुपमा लिएको छ । साँस्कृतिक विविधता कायम राख्दै ऐतिहासिक, पुरातात्विक तथा साँस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र विकास गर्ने दिशामा गाँउपालिकाले काम गरिरहेकोछ ।

 

गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्न जरुरी देखिन्छ । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका मुलभूत मान्यतालाई आत्मसात् गरी यथोचित अवसर, सामाजिक न्याय तथा सामाजिक सुरक्षामार्फत् समावेशी र समृद्ध चामे गाँउपालिका तयार गर्नु आवश्यक रहेको छ । सामाजिक क्षेत्रको विकासमा संघ सरकार, प्रदेश सरकार र विकास साझेदार संस्थासँगको सहकार्य र समन्वयमा स्थानीय सरकारले अर्थपूर्ण प्रयास गर्नु पर्ने आवश्यकता रहेको छ । चाँमे गाउँपालिकाको समृद्धिका लागि शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद, कला तथा संस्कृति जस्ता क्षेत्रका सम्भावना, अवसर र विद्यमान अवस्था सहित समस्या तथा चुनौती पहिचान गरिएको छ ।

 

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.